काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ।
साउन २८ गते स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी गरिएको नेता एनपी साउदले जानकारी दिए।
उनका अनुसार देउवाको स्वागतका लागि करिब ५ हजार नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित हुनेछन्। विमानस्थलबाट धुम्बाराहीस्थित देउवाको निवाससम्म ‘स्कर्टिङ’ गर्ने तयारीसमेत गरिएको साउदले बताए।
कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन उपत्यकाबाहिरबाट काठमाडौं आउने तथा उपत्यकामै रहेका प्रजातन्त्रवादी नेता–कार्यकर्ताले विमानस्थल पुगेर देउवाको स्वागत गर्ने तयारी रहेको उनको भनाइ छ।
देउवाको स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता परिचालन गर्ने तयारीसँगै साउन २८ गते विमानस्थल क्षेत्रमा कांग्रेसको शक्ति प्रदर्शनसमेत देखिने भएको छ।






