काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ बुझाउनुपर्ने बन्दसूचीको अन्तिम तयारी गरिरहेका बेला पार्टी नेतृत्व र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पक्षबीच उम्मेदवारको संख्या सम्बन्धी सहमति भएको छ। सहमतिअनुसार बालेन पक्षबाट ४० जनाको नाम समानुपातिक सूचीमा समावेश गरिने भएको स्रोतको भनाइ छ।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार रास्वपाले समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ११० जनाको बन्दसूची आज र भोलि बुझाउनुपर्नेछ। यसमध्ये ७० जना पार्टीको नियमित प्रक्रियाबाट र ४० जना बालेन पक्षबाट प्रस्तावित उम्मेदवार रहने गरी समझदारी बनेको बताइएको छ।
आइतबार बिहान पार्टी सभापति रवि लामिछाने र बालेन शाहबीच भएको छलफलका क्रममा यो सहमति भएको हो। यद्यपि, सोही दिन सार्वजनिक गरिएको सातबुँदे समझदारीपत्रमा उम्मेदवार संख्याबारे स्पष्ट उल्लेख गरिएको छैन। तर, दुवै पक्षबीच मौखिक सहमति भएको दाबी स्रोतहरूले गरेका छन्।
बालेन पक्षको सूचीमा विभिन्न जेनजी समूहसँग आबद्ध अभियन्ता तथा स्वतन्त्र नागरिक अभियानमा सक्रिय व्यक्तिहरू समावेश हुने सम्भावना रहेको बताइन्छ। यसले रास्वपाले अघि सारेको वैकल्पिक राजनीतिक धारलाई थप बल पुग्ने पार्टी निकट स्रोतको बुझाइ छ।
यसैबीच, रास्वपाले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक मतदान प्रक्रिया समेत अघि बढाएको छ। पार्टी नेतृत्वले लोकप्रिय मत प्राप्त गर्ने उम्मेदवारलाई प्राथमिकता दिने नीति लिएको जनाएको छ।






