काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढिरहेको बताएकी छन्। जेनजी आन्दोलनपछिको अवस्था सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई आह्वान गरेकी छन्।
सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नागरिकहरूलाई चार विषयमा विशेष अपिल गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले सबै मतदातालाई आगामी निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेकी छन्। मतदान गर्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाउनु मात्र नभई आफ्नो तथा भावी पुस्ताको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णय भएको उनको भनाइ छ। उनले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न सबैलाई हार्दिक अपिल गरेकी छन्।
त्यस्तै उनले निर्वाचनको मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न आग्रह गरेकी छन्। चुनावमा स्वस्थ प्रतिस्पर्धा र फरक विचार स्वाभाविक भए पनि समाजमा मनमुटाव र वैमनस्य हुन नहुने उनले बताएकी छन्। राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई संयमित र मर्यादित ढंगले चुनाव प्रचार गर्न उनले आग्रह गरेकी छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनकै मुखमा परेको होली पर्वले देशमा नयाँ उत्साह र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेकी छन्। निर्वाचनको रङ र होलीको रङ मिसिएर देशमा सकारात्मक ऊर्जा फैलिने उनले उल्लेख गरेकी छन्।
यसैबीच मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगहरूलाई सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको पनि उनले जानकारी दिएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीको देशबासीलाई चार अपिल






