ललितपुर । फोनपेले आफ्नो फोनपे क्रेडिट कार्डले सेवा सुरु गरेको दुई वर्षभन्दा केही समयमै ५० हजार प्रयोगकर्ताको संख्या पार गरेको जनाएको छ।
कम्पनीका अनुसार यो उपलब्धिले नेपालको विकसित हुँदै गएको डिजिटल वित्तीय क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा स्थापित गर्नुका साथै छिटो, सहज, पहुँचयोग्य र प्रविधिमैत्री कर्जा समाधानप्रति उपभोक्ताको बढ्दो मागलाई प्रतिबिम्बित गरेको छ।
कम्पनीले यो उपलब्धिले डिजिटल क्रेडिटप्रति उपभोक्ताको बढ्दो विश्वास तथा नेपालभरका ग्राहकका लागि क्रेडिटलाई थप पहुँचयोग्य, सुविधाजनक र सहज बनाउन फोनपे तथा साझेदार बैंकबीचको सहकार्यलाई समेत देखाएको जनाएको छ।
नेपालको मोबाइल बैंकिङ एपमै प्रत्यक्ष रूपमा एकीकृत गरिएको पहिलो पूर्णतः भर्चुअल क्रेडिट कार्डका रूपमा फोनपे क्रेडिट कार्डले ग्राहकको क्रेडिट पहुँच र प्रयोग गर्ने शैलीमा परिवर्तन ल्याएको कम्पनीको दाबी छ।
ग्राहकले हाल सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्स गरी नौ साझेदार बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नेछन्।
त्यस्तै, ग्राहकले देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। फोनपेले डिजिटल माध्यमबाट प्रदान गरिने वित्तीय सेवाप्रति उपभोक्ताको विश्वास बढ्दै गएको र नेपालमा क्रेडिट प्रदान गर्ने प्रणालीमा समेत महत्वपूर्ण परिवर्तन भइरहेको जनाएको छ।
दैनिक प्रयोगमा रहेका बैंकिङ प्लेटफर्ममै क्रेडिट सुविधा समावेश गरेर औपचारिक क्रेडिटलाई थप समावेशी र सहज बनाउन योगदान पुगेको कम्पनीको भनाइ छ।
यस उपलब्धिबारे फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपालमा परम्परागत क्रेडिट कार्डको इतिहास ३६ वर्ष लामो भए पनि हालसम्म यसको संख्या तीन लाखभन्दा केही बढी रहेको बताए। फोनपे क्रेडिट कार्डले भने दुई वर्षमै ५० हजार प्रयोगकर्ता पार गरेको उनले उल्लेख गरे।
उनका अनुसार यो उपलब्धि केवल संख्या बढेको विषय नभई क्रेडिटको पहुँच विस्तार गरी थप नेपालीसम्म पुर्याउने प्रयासको परिणाम हो। डिजिटल युगका लागि क्रेडिटलाई पुनःपरिभाषित गर्ने फोनपेको उद्देश्य रहेको उनले बताए।
कुमारले यो उपलब्धि सुरुदेखि नै फोनपेमाथि विश्वास गर्ने साझेदार बैंक तथा वित्तीय संस्थाको सहकार्यबाट सम्भव भएको उल्लेख गरे। यस उपलब्धिले नेपालमा एम्बेडेड फाइनान्सको बढ्दो अभ्यासलाई समेत उजागर गरेको कम्पनीले जनाएको छ।
ग्राहकका अपेक्षा तत्काल, कागजरहित र डिजिटल बैंकिङ अनुभवतर्फ परिवर्तन भइरहेका बेला फोनपे क्रेडिट कार्डले वित्तीय सेवा प्रदान गर्ने शैलीमा भइरहेको परिवर्तनलाई थप गति दिएको कम्पनीको दाबी छ।
आगामी दिनमा बैंकहरूसँगको सहकार्य थप मजबुत बनाउँदै उत्पादनमा निरन्तर नवप्रवर्तन तथा ग्राहक अनुभवमा सुधार गर्ने फोनपेको योजना छ। कम्पनीले लाखौँ नेपालीसम्म डिजिटल क्रेडिटको पहुँच पुर्याउँदै नेपालको डिजिटल वित्तीय प्रणालीको विकासमा योगदान गर्ने लक्ष्य लिएको जनाएको छ।





