काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा श्रद्धालुको ठूलो भिड लागेको छ। बिहानैदेखि विभिन्न शिव मन्दिरमा भक्तजनहरू पूजा, आराधना तथा दर्शनका लागि पुगेका छन्।
साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर भगवान शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार साउनका अन्य सोमबार व्रत बस्न नसके पनि अन्तिम सोमबार व्रत बसेर शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
भगवान शिवको प्रिय बारका रूपमा मानिने सोमबार श्रद्धालुले व्रत, पूजापाठ तथा दान गर्ने गरेका छन्। यसै अवसरमा बोलबम तीर्थालुहरूको पनि देशभरका शिवालयमा घुइँचो लागेको छ। उनीहरूले काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउँदै पूजाआजा गरिरहेका छन्।
काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी महादेव, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायत शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
त्यस्तै, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा तथा बोलबम मेला भर्न आउने श्रद्धालुको चहलपहल बढेको छ।
सोमप्रदोष व्रतको संयोग
यस वर्ष साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको समेत संयोग परेको धर्मशास्त्रका जानकारहरूले बताएका छन्। उनका अनुसार सोमबारका दिन त्रयोदशी तिथि परेमा त्यसलाई सोमप्रदोष भनिन्छ।
प्रदोषकाल अर्थात् सूर्यास्त आसपासको समय भगवान शिवको पूजाका लागि विशेष शुभ मानिन्छ। यस समयमा शिव मन्दिरमा दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
सोमप्रदोषका दिन दूध, दही, घ्यु र बेलपत्रले शिवको पूजा गरी पहेँलो वस्तु चढाउँदा शुभ फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ।




