काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी तीव्र पारिएको छ।
एक्स्पो सुरु हुन एक दिन मात्र बाँकी रहँदा विभिन्न अटोमोबाइल ब्रान्डहरू आफ्ना स्टल सजाउन व्यस्त छन्। रातिसम्मै प्रदर्शनीस्थलमा स्टल निर्माण तथा सजावटको काम भइरहेको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा एक्स्पो आयोजना हुँदैछ।
यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ। एक्स्पो संयोजक गौरव शारदाका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहनेछ।
नाइमा आयोजकका अनुसार यो एक्स्पो नेपालमा हालसम्मकै ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी बन्ने अपेक्षा गरिएको छ।





