मुम्बई । दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन–अप्स’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक ट्रेलरले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

ट्रेलरमा यशलाई ग्याङ्स्टरको भूमिकामा फरक र आक्रामक अवतारमा देखाइएको छ। ट्रेलर सार्वजनिक भएसँगै उनको लुक्स तथा शैलीलाई सन् २०२३ मा रिलिज भएको रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ को लुक्ससँग तुलना गर्न थालिएको छ।

‘एनिमल’मा रणवीरको लुक्स र हिंसात्मक शैली दर्शकमाझ चर्चित बनेको थियो। ‘टक्सिक’को ट्रेलरमा यशको स्टाइल र एक्सन दृश्य देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा ‘एनिमल’को प्रभाव रहेको टिप्पणी गरेका छन्।

ADVERTISEMENT

ट्रेलरलाई लिएर सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले यशले रणवीरको शैलीको नक्कल गरेको आरोप लगाएका छन् भने यशका फ्यानहरूले उनको बचाउ गर्दै मौलिक प्रस्तुति भएको दाबी गरेका छन्।

ADVERTISEMENT

एक यश फ्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यशले देखाउनेछन् कि असली एनिमल कस्तो हुन्छ।’ यद्यपि, कतिपयले फिल्म नै नहेरी ट्रेलरका केही दृश्यका आधारमा दुई फिल्मबीच तुलना गर्नु उचित नभएको बताएका छन्।

गीतू मोहनदास निर्देशित फिल्ममा यश ‘राया’को मुख्य भूमिकामा छन्। बलिउड अभिनेत्री कियारा आडवाणी ‘नादिया’, तारा सुतारिया ‘रबेका’ र हुमा कुरैशी ‘एलिजाबेथ’को भूमिकामा देखिनेछन्।

फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारा र रुक्मिणी वसन्तको पनि महत्वपूर्ण भूमिका रहेको छ। लामो समयदेखि दर्शकको प्रतीक्षामा रहेको ‘टक्सिक’ आगामी अगस्ट २६ मा विश्वभर प्रदर्शनमा आउने बताइएको छ।