काठमाडौं । सय दिनसम्म सार्वजनिक रूपमा नखुलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफूलाई थोरै बदलेका छन् । प्रधानमन्त्री भएको साडे तीन महिनासम्म भेटघाटलाई निकै पातलो बनाएका बालेनले अब भने राजनीतिकसँगै कूटनीतिक भेटघाटलाई पनि तीव्रता दिने संकेत गरेका छन् ।
प्रधानमन्त्री बालेनमा सुनसरीको कप्तानगन्जले बदलाव ल्याइदिएको हो । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा फैलिएको हिन्दु मुस्लिमको हिंसाले अहिलेसम्म चारजनाले ज्यान गुमाइसकेका छन् । दर्जनौं घाइते भएका छन् । करोडौं मूल्यबराबरको निजी भौतिक सम्पत्तिमा आगजनी भएको छ । घटना भएको चार दिनसम्म मौन बसेका बालेन पाँचौै दिन राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने अवस्थामा आइपुगे । यो घटनाले निकै दबाब महसुस गरेका बालेन अब कार्यशैली बदलेर विस्तारै खुल्न लागेका छन् ।
प्रधानमन्त्री शाहले सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन्। शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्ने भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
भारतीय राजदूतलाई भेटेपछि प्रधानमन्त्री शाहले सोही दिन चिनियाँ राजदूतसँग भेट्ने भएका हुन्। लगत्तै मंगलबार कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँग पनि भेट गर्ने बुझिएको छ।
यसअघि प्रधानमन्त्री शाहले नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग सामूहिक भेट गरेका थिए भने कसैसँग पनि एक्लै भेट्न मानेका थिइनन्। प्रधानमन्त्री शाहले भेट्न नमानेकै कारण भारतका विदेश सचिव बिक्रम मिश्रीको निर्धारित नेपाल भ्रमण रद्द भएको थियो।
त्यसैगरी नेपाल भ्रमणमा आएका दक्षिणमध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिणमध्य एसियाका लागि राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरसँग प्रधानमन्त्री शाहले भेट्न मानेनन्। नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले पनि प्रधानमन्त्री शाहसँग भेट्न पाइनन्।
प्रधानमन्त्री शाहले नेपाल भ्रमणमा आएका एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भने असारमा एक्लै भेट गरेका थिए।




