काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई प्रतिनिधिसभा बैठकमा बोलाउन माग गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सचेतक निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् ।
‘हजुर हाम्रो नायक पनि हो । तपाईले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ उनले भने, ‘त्यसैले सभामुखमार्फत तत्काल सम्माननीयज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’
सरकारकै नीति तथा कार्यक्रम माथि छलफल भइरहेकाले प्रधानमन्त्रीको उपस्थिति यसअघि पनि माग राखिएको उनले बताए । तर आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थितिप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
‘हिजो बसेको प्रतिनिधिसभा बैठकमा हाम्रो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदनमार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो । प्रधानमन्त्रीको उपस्थिति खोज्नुभयो । तर आज पनि अवस्था उस्तै छ । सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन,’ उनले भने ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने तय भएको छ ।
मंगलबारको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था परीक्षण गरेर सदनलाई जानकारी गराउन सभामुख डिपी अर्यालसँग माग गरेका थिए ।








