काठमाडौँ — नेकपा (एमाले)ले सांसदहरूले पाउने स्वकीयसम्बन्धी कार्यविधि पारित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले स्वकीय नियुक्तिका मापदण्डसहितको कार्यविधि अनुमोदन गरेको हो।
एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार बैठकले संसद्मा छलफलका क्रममा रहेका विधेयकलाई थप परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गर्ने तथा संशोधन प्रस्तावमा सक्रिय सहभागिता जनाउने विषयमा पनि जोड दिएको छ।
उनले सरकारले ल्याएका विधेयकहरू जस्ताको तस्तै पारित गर्दा भविष्यमा जोखिम उत्पन्न हुन सक्ने भएकाले आवश्यक संशोधन र परिस्करण गर्नुपर्ने धारणा राखिन्।
अर्यालले सरकारले विद्यार्थीलाई सैन्य तालिम दिने जस्ता असान्दर्भिक विषयभन्दा जनताको जनजीविका र आवश्यक कानुन निर्माणसँग सम्बन्धित मुद्दामा प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइन्।





