काठमाडौं । पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि एमालेको आकस्मिक संसदीय दल बैठक च्यासलमा सुरु भएको छ । आजै साँझ एमालेको सचिवालय बैठक पनि बोलाइएको छ । सचिवालय बैठक एमाले अध्यक्ष केपी ओली निवास गुण्डुमा बस्नेछ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा सोमबार सुर्खेतबाट पौडेल पक्राउ परेपछि एमालेले यसबारे आधिकारिक धारणा बनाउन छुट्टाछुट्टै बैठक आह्वान गरेको हो। उपाध्यक्ष पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने तयारीसमेत गरेको छ।
एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरका अनुसार, समसामयिक विषय र पौडेल पक्राउ प्रकरणबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको बताए । बैठकमा एमाले अध्यक्ष ओली, प्रदीप ज्ञवालीलगायतका नेताहरू पनि सहभागी छन् । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपाध्यक्ष पौडेलको गिरफ्तारीका विषयमा गम्भीर समीक्षा हुने बताइएको छ।
पूर्वअर्थमन्त्री पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ। म्याद थप्ने प्रक्रियाका लागि अदालतमा उपस्थित गराइएको हो।

सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौँ ल्याइएको थियो। उनलाई राति नै माइक्रोबसमा ल्याएको हो। त्यसपछि पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा पुर्याइएको थियो।
पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा विभागले पक्राउ गरेको हो। सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि भैँसेपाटीस्थित उनको निवासमा छापा पनि मारिएको थियो।






