काठमाडौं । कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् ।
कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरुले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा उनीहरुले प्रदर्शन थालेका हुन् ।
‘भाडा कम, कमिसन बढी अब सहदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’, ‘राइडरको शोषण बन्द गर्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
सरकारले नयाँ आर्थिक वर्षदेखि लगाएको ५ प्रतिशत भ्याट पनि चालकले पुरानै भाडा दरअनुसार कमिसनको रुपमा तिर्नुपरेको फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केले बताइन् ।





