काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर (आईपीओ) बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउन सात सदस्यीय प्राइमरी मार्केट रिफर्म फ्यासिलिटेटिङ टास्क फोर्स गठन गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अन्तर्गत रहेको नियामकीय सुधार एजेन्डा कार्यान्वयन गर्ने उद्देश्यले नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको बोर्डले जनाएको छ।

ADVERTISEMENT

कार्यदलमा बोर्डका तीन कर्मचारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का एक प्रतिनिधि, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन्।

आवश्यकता अनुसार आइक्यान, विद्युत् नियमन आयोग, इप्पान, स्टक ब्रोकर एसोसिएसन, सीडीएस एन्ड क्लियरिङलगायत सरोकारवाला संस्थाका विज्ञलाई पनि आमन्त्रण गर्न सकिने बोर्डले जनाएको छ।

ADVERTISEMENT

साउन १९ गते बसेको पहिलो बैठकले प्राथमिक बजार सुधारका विभिन्न विषयमा छलफल गरेको छ। कार्यदलले सार्वजनिक निष्कासन, बुक बिल्डिङ, मर्चेन्ट बैंकरको भूमिका, आईपीओ बाँडफाँट प्रणाली, डिजिटल आईपीओ, मूल्य निर्धारण, आईपीओ जारी गर्न योग्य कम्पनीका मापदण्ड तथा संस्थागत लगानीकर्ता वृद्धि लगायत विषयमा नीतिगत र नियामकीय सुधारका सुझाव दिनेछ।

हाल लागू रहेको गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्ने व्यवस्थामा सुधार आवश्यक भए–नभएको विषयमा पनि कार्यदलले अध्ययन गर्नेछ। साथै, आईपीओ जारी गर्नुअघि कम्पनीको वित्तीय अवस्था, नाफा, नेटवर्थ, सुशासन, सञ्चालन अवधि, जोखिम तथा कानुनी पक्षको विस्तृत मूल्यांकन गर्ने प्रक्रियाबारे पनि सुझाव दिने जिम्मेवारी कार्यदललाई दिइएको छ।