काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब १ करोड ११ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को १ खर्ब ७७ अर्ब १० करोड ६३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय रूपमा बढी हो।
तथ्यांकअनुसार सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ बनेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। त्यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले २१ अर्ब २३ करोड ३१ लाख, हिमालयन लाइफले १८ अर्ब ६६ करोड ५ लाख तथा सूर्यज्योति लाइफले १२ अर्ब १० करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
यस्तै, एशियन लाइफले १० अर्ब ४३ करोड ६६ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख तथा सिटिजन लाइफले ९ अर्ब १६ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
अन्य कम्पनीमध्ये आईएमई लाइफले ७ अर्ब ४५ करोड ४२ लाख, सानिमा रिलायन्स लाइफले ७ अर्ब ११ करोड ४२ लाख, मेट लाइफले ६ अर्ब ५६ करोड ३ लाख, रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड ८ लाख, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६१ लाख तथा सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकले जीवन बीमा क्षेत्रमा बीमा व्यवसाय विस्तार हुँदै गएको संकेत गरेको छ। बीमा शुल्क संकलनमा भएको वृद्धिले जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिन्छ।




