देवानगञ्ज घटनापछि सुनसरीमा सुरक्षा अवस्था सुधार हुँदै गएपछि कर्फ्यु हटाइएको छ। चार गाउँपालिकामा सोमबार बिहान १० बजेसम्म निषेधाज्ञा कायम रहनेछ।सुनसरीको देवानगञ्जमा भएको घटनापछि प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ। यद्यपि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा सोमबार बिहान १० बजेसम्म निषेधाज्ञा कायम राखिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लाको सुरक्षा अवस्थाको निरन्तर समीक्षा गर्दा परिस्थिति सुधारोन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम उक्त आदेश जारी गरिएको हो। निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा धर्ना गर्न प्रतिबन्ध लगाइएको छ।

ADVERTISEMENT

देवानगञ्ज घटनापछि केही दिन तनावग्रस्त बनेको दक्षिणी सुनसरीमा अहिले बजार, यातायात, व्यापार–व्यवसाय तथा दैनिक जनजीवन विस्तारै सामान्य बन्दै गएको प्रशासनले जनाएको छ। मृतकहरूको दाहसंस्कार सम्पन्न हुनु, पीडित परिवारसँग सरकारको सहमति, सुरक्षा निकायको प्रभावकारी परिचालन तथा राजनीतिक दल, नागरिक समाज र धार्मिक समुदायबीचको संवादले वातावरण सहज बनाउन सहयोग पुगेको बताइएको छ।

ADVERTISEMENT

जिल्ला प्रशासनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। साथै अफवाहको पछि नलाग्न, सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन र आपसी विश्वास तथा सहकार्यबाट शान्तिपूर्ण वातावरण कायम राख्न सर्वसाधारणसँग अपिल गरेको छ।