विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।
शनिबार बेलुका भएको घटनामा स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए।
प्रहरीका अनुसार यादवको तिघ्रामा गोली लागेको छ। गम्भीर घाइते उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान खुलिसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
गोली चलेपछि स्थानीय आक्रोशित भएका छन्। थप क्षति हुन नदिन प्रहरीले क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।






