विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव नियन्त्रण गर्दै सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न सर्वपक्षीय सहमति भएको छ।

आइतबार रातिको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिने, सामाजिक एकता कायम गर्ने र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सरोकारवालाहरूले अफवाहबाट टाढा रहन, सामाजिक सद्भाव कायम राख्न र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाएका छन्।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै पक्षले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ। बैठकपछि जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाले स्थानीय तहमा सामाजिक सद्भाव कायम गर्ने पहल सुरु गरिसकेको पनि उनले जानकारी दिए।

ADVERTISEMENT

आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा सुरु भएको विवाद हिंसात्मक बन्दा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

उक्त घटनामा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन्। घटनाबारे छानबिन जारी रहेको छ।