काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष टिक्ने अवस्था नरहेको टिप्पणी गरेका छन्।
शनिबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न नसक्ने संकेत पाँच महिनामै देखिएको दाबी गर्दै उज्यालो नेपाल पार्टीलाई देशको वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरे।
घिसिङले स्थानीय र प्रदेश निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै ती निर्वाचनमा पार्टीको सशक्त उपस्थिति रहने र त्यसपछिको निर्वाचनबाट देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरे।
उनले गत निर्वाचनमा पार्टी पराजित भए पनि जनताको विश्वास जित्न सफल भएको दाबी गर्दै अहिले गाउँ–गाउँमा उज्यालो नेपाल पार्टीप्रति विश्वास बढ्दै गएको बताए। जनताले आफूहरूलाई जिताउन नसकेकोमा पछुतो महसुस गर्न थालेको उनको भनाइ थियो।
घिसिङले पुराना राजनीतिक दलप्रति जनताको विश्वास कमजोर हुँदै गएको दाबी गर्दै ती दलका सक्षम र इमानदार नेताहरूलाई उज्यालो नेपाल पार्टीमा स्वागत गर्न तयार रहेको पनि बताए।





