काठमाडौं । चिकित्सकसँग भएको सहमतिअनुसार सरकारले स्वास्थ्यसम्बन्धी कानुन संशोधन र सम्झौता कार्यान्वयनका लागि तीन वटा कार्यदल गठन गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलमा नेपाल चिकित्सक संघसँग भएको सम्झौता कार्यान्वयनको खाका तयार गर्न प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द्र घिमिरेको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।

ADVERTISEMENT

कार्यदलमा उपसचिव राजेन्द्रप्रसाद लम्साल, स्वास्थ्य सेवा विभागका मेडिकल अधिकृत डा. राहुल झा तथा नेपाल चिकित्सक संघका डा. सञ्जिव तिवारी, डा. तेजसु सिंह मल्ल र डा. पल्पसा श्रेष्ठ सदस्य छन्। स्वास्थ्य मन्त्रालयका मेडिकल अधिकृत डा. नवराज जोशी सदस्य सचिव तोकिएका छन्। यो कार्यदललाई १५ दिनभित्र कार्यान्वयनको खाका तयार गर्न जिम्मेवारी दिइएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. रोशन न्यौपानेको नेतृत्वमा उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्वास्थ्यसम्बन्धी प्रावधान संशोधनका लागि अर्को कार्यदल गठन गरिएको छ। यसमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजालसहित विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी छन्।

ADVERTISEMENT

तेस्रो कार्यदल उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीको नेतृत्वमा गठन गरिएको छ। यसले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४ का स्वास्थ्यसँग सम्बन्धित प्रावधानमा आवश्यक संशोधनबारे प्रतिवेदन तयार गर्नेछ।

तीनै कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभरका चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै आन्दोलन गरेपछि साउन १३ गते सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिअनुसार यी कार्यदल गठन गरिएको हो।