काठमाडौं: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिले सुनसरीको देवानगञ्जबाट सुरु भएको विवादले दुःखद् घटनाको रूप लिएको भन्दै चिन्ता व्यक्त गरेको छ।
प्याब्सनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई शान्त, संयमित र जिम्मेवार रहन आग्रह गरेको हो। संस्थाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा आपसी समझदारी, संवाद र सहिष्णुतामार्फत उत्पन्न विवाद समाधान गर्नुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमा कुनै पनि घटनालाई लिएर सामाजिक सम्बन्धमा असर पर्ने गतिविधि नगर्न तथा शान्ति र सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरिएको छ।
प्याब्सनले शिक्षा क्षेत्र सामाजिक एकता र सहिष्णुताको महत्वपूर्ण आधार भएकाले विद्यार्थी, अभिभावक तथा समुदायमा सकारात्मक वातावरण निर्माण गर्न सबै सरोकारवालासँग सहकार्य आवश्यक रहेको जनाएको छ।





