काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ।

यसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा गण्डकीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

ADVERTISEMENT

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थान तथा मधेस प्रदेश, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

ADVERTISEMENT