काठमाडौं। नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो समय कुल शाखा संख्या घट्दै गए पनि खर्च रकम भने बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या ६ हजार ३ सय ५८ वटामा खुम्चिँदा बैंकिङ क्षेत्रले कर्मचारीहरूको तलब भत्तामा मात्र कुल ६२ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च गरेको छ। यो खर्च रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २ अर्ब रुपैयाँले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल ६ हजार ५ सय १८ वटा शाखा सञ्चालनमा रहँदा ६० अर्ब २३ करोड ९० लाख रुपैयाँ खर्च भएको थियो।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र आव २०८२/०८३ को जेठ मसान्तसम्ममा कर्मचारीहरूको तलब भत्ता शीर्षकमा कुल ५५ अर्ब १३ करोड २० लाख रुपैयाँ खर्च गरेका छन्। यस अवधिमा वाणिज्य बैंकहरूको सञ्चालनमा रहेको कुल शाखा संख्या भने ४ हजार ९ सय ५० रहेको छ। अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरूले आफ्नो कुल ५ हजार ९५ वटा शाखा सञ्चालनमा रहेको अवस्थामा कर्मचारीहरूको तलब भत्ताका लागि मात्र कुल ५३ अर्ब १३ करोड ३० लाख रुपैयाँ खर्च गरेका थिए।
यसैगरी, सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पनि आव २०८२/०८३ को जेठ मसान्तसम्ममा कुल १ हजार १ सय १५ वटा शाखा सञ्चालनमा रहेको अवस्थामा कर्मचारीहरूको तलब भत्ताका लागि कुल ६ अर्ब ६ करोड १० लाख रुपैयाँ खर्च गरेका छन्। अघिल्लो आवको सोही अवधिमा भने विकास बैंकहरूको १ हजार १ सय ३२ वटा शाखा सञ्चालनमा रहेकोमा कर्मचारीहरूको तलब भत्ता शीर्षकमा कुल ५ अर्ब ६२ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो।
राष्ट्र बैंकका अनुसार आव २०८२/०८३ को जेठ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले भने कर्मचारीहरूको तलब भत्ताका लागि मात्र कुल १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खर्च गर्दा सञ्चालनमा रहेको कुल शाखा संख्या २ सय ९३ वटा रहेको छ। अघिल्लो आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा २ सय ९१ वटा शाखा सञ्चालनमा रहेकोमा कर्मचारीहरूको तलब भत्ताका लागि खर्च भएको कुल रकम १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो।
सामान्य अर्थमा बैंकहरूको शाखा संख्या घट्दा कर्मचारीहरूको संख्या पनि घट्ने अपेक्षा गरिन्छ। कर्मचारीको संख्या घट्दा बैंकिङ क्षेत्रको कुल खर्च रकममा पनि केही कमी आउँछ। तर, बैंकहरूको शाखा संख्या घट्दा पनि बैंकिङ क्षेत्रको खर्च रकम भने निरन्तर बढिरहेको छ।
बैंकहरूको कर्मचारी खर्च बढ्नुको कारण केवल शाखा सञ्चालनसँग मात्र सीमित छैन। पछिल्लो समय बैंकिङ क्षेत्रको कार्यप्रणाली थप जटिल बन्दै गएको छ। डिजिटल बैंकिङको विस्तारसँगै सूचना प्रविधि विज्ञ, साइबर सुरक्षा विशेषज्ञ, डेटा व्यवस्थापन तथा डिजिटल सेवा सञ्चालन गर्ने दक्ष जनशक्तिको माग बढेको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकका विभिन्न नियामकीय व्यवस्था, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा अनुपालनसम्बन्धी जिम्मेवारी पूरा गर्न बैंकहरूले थप जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आएको छ।
यसका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरूबीच दक्ष कर्मचारी टिकाइराख्न प्रतिस्पर्धा बढेको छ। कर्मचारीको तलब, सुविधा, तालिम, क्षमता विकास, स्वास्थ्य तथा अन्य कल्याणकारी योजनामा हुने खर्च पनि पछिल्लो समय बढ्दै गएको छ। भौतिक शाखा संख्या घटे पनि डिजिटल सेवा २४ घण्टा सञ्चालन गर्न आवश्यक प्राविधिक संरचना, ग्राहक सेवा, डेटा सुरक्षा र सञ्चालन व्यवस्थापनमा निरन्तर जनशक्ति आवश्यक पर्छ। त्यसैले बैंकिङ क्षेत्रको खर्चलाई केवल शाखा संख्याको आधारमा मात्र मूल्यांकन गर्न नमिल्ने र बदलिँदो बैंकिङ मोडलअनुसार कर्मचारी खर्च बढ्नु स्वाभाविक भएको विज्ञहरूको भनाइ छ।
यही विषयमा अर्थविद् डा. चन्द्रमणि अधिकारीसँग कुरा गर्दा उनले अहिले बैंकिङ क्षेत्र शाखा विस्तारभन्दा पनि यस क्षेत्रलाई थप प्रविधिमैत्री बनाउने दिशामा अघि बढिरहेको बताए। यस्तो अवस्थामा शाखा संख्या घट्दै जानु र कर्मचारी खर्च बढ्नु परस्पर विरोधाभासी विषय नभएको उनको भनाइ छ।

“बैंकहरूले अहिले सूचना प्रविधि, डिजिटल बैंकिङ, साइबर सुरक्षा, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालनका लागि दक्ष जनशक्तिमा लगानी बढाउँदै आएका छन्। यसका साथै तलब–सुविधा, कर्मचारी लाभ तथा महँगीका कारण पनि कर्मचारी खर्च बढिरहेको छ। यो अवस्थामा शाखा घटेकै आधारमा बैंकिङ क्षेत्रमा कर्मचारी खर्च पनि घट्नुपर्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन,” अर्थविद् डा. अधिकारी भन्छन्।
बैंकिङ क्षेत्रको शाखा संख्या र खर्च रकम











