काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन नयाँ दिल्ली गएकोबारे परराष्ट्र मन्त्रालयले अनविज्ञता प्रकट गरेको छ ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस विषयमा कुनै जानकारी नभएको बताए ।

ADVERTISEMENT

दुई साताअघि बेन काठमाडौंबाट सिमरासम्म हवाइमार्ग र रक्सौल हुँदै नयाँ दिल्ली पुगेर उच्चस्तरीय भेटघाट गरी फर्किएको समाचार बाहिरिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालयले समेत स्पष्ट पार्न सकेको छैन । कुमार बेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सल्लाहकार अजित दोभालसँग भेटघाट गरेर बालेनको भारत भ्रमण गराउने प्रयास गरेको चर्चा छ ।

पौडेलले प्रचलित कूटनीतिक अभ्यासबमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुरोधका आधारमा सभापति रवि लामिछानेको चीन भ्रमणको सहजीकरण गर्न परराष्ट्र मन्त्रालय तयार रहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले कूटनीतिक आधारमा सबै भ्रमणहरू सम्पन्न हुने बताए ।

ADVERTISEMENT

‘राजनीतिक दलहरूबीच हुने भ्रमण वा आदानप्रदान सम्बन्धित दलहरूको विषय हो । त्यस्तो भ्रमणका लागि परराष्ट्र मन्त्रालयको समन्वय वा कूटनीतिक सहजीकरण आवश्यक पर्ने अवस्था आएमा सम्बन्धित राजनीतिक दलको अनुरोधका आधारमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ’, उनले भने ।

रास्वपा सभापति लामिछाने अर्को महिना चीन भ्रमणमा जाने तयारीमा छन् । यसअघि भारतको भ्रमण गरेर आएका लामिछाने अब बेइजिङ जान लागेका हुन् । उनले चिनियाँ उपराष्ट्रपति र विदेशमन्त्री भेट्ने बताइएको छ । तर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुने नहुने खुलाइएको छैन ।