काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार गएको शनिबारदेखि सक्रिय बनेको मनसुनको प्रभाव आजदेखि क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ। यद्यपि, केही क्षेत्रमा अझै पनि मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

गएराति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको थियो। पछिल्लो ६ घण्टामा गण्डकी प्रदेशको तनहुँ र कोशी प्रदेशको संखुवासभामा सबैभन्दा धेरै ५१ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग, साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

ADVERTISEMENT

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ADVERTISEMENT