काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशभर सामान्यतया बदली रही वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
पहाडी भू–भागतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।







