काठमाडौं – बागमती र कोशी प्रदेशका केही क्षेत्रमा गएराति ठूलो वर्षा भएको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती प्रदेशको मकवानपुर र कोशी प्रदेशको झापामा ठूलो वर्षा मापन गरिएको छ भने अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, भोलि मधेश र सुदूरपश्चिम बाहेकका प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ। तर, भोलिदेखि वर्षा हुने क्रम बिस्तारै कम हुँदै जाने सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल ले बताउनुभएको छ।












