काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चारजना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । बजेट पास गर्न सहयोग नगरेको भन्दै मुख्यमन्त्री शाहले बुधबार एमालेका चारै मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।
शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए ।
असार १ गते कांग्रेस नेतृत्वको प्रदेश सरकारले प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार एमालेले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो । एमाले सांसदहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेपछि विवाद चुलिएको थियो ।
असार ३२ गतेभित्र संसदबाट बजेट अनिवार्य पास हुनुपर्ने छ । नत्र प्रदेशमा बजेट शून्यताको अवस्था आउने भएकाले मुख्यमन्त्री शाहले जोखिम मोलेरै एमालेका चारै मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहको यो कदमले अब सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरबदल हुने भएको छ । एमालेको एउटा पक्षले नेकपासँग मिलेर सरकार बनाउने छलफल अन्तिम चरणमा पुर्याएको छ । मुख्यमन्त्री शाहले मंगलबार काठमाडौंमा नेकपाका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । अब प्रदेशमा कांग्रेस र नेकपा वा नेकपा र एमाले कसको सरकार बन्छ भन्ने एक सातामै दृश्य थाहा हुन्छ ।












