धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

बिहीबार साँझ मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले उनको राजीनामा स्वीकृत गरेका हुन्। राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न भनिएको छ। दाबी पेस गर्ने समय शुक्रबार बिहान ११ बजेसम्म तोकिएको छ।

ADVERTISEMENT

मुख्यमन्त्री शाहले प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएका थिए। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

ADVERTISEMENT

अब नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ। नेकपाबाट संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने चर्चा छ। यद्यपि, भट्टको नेतृत्वलाई लिएर पार्टीभित्रै मतभेद रहेको बताइएको छ।

प्रदेश प्रमुखको आह्वानसँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।