काठमाडौँ । सरकारले सोमबारदेखि नयाँ कम्पनीबाट राहदानी छपाइ सुरु गरेको छ । राहदानी विभागले सबैभन्दा ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
यसअघि राहदानी छपाइ गर्दै आएको फ्रान्सेली कम्पनी आइडेमियाबाट नेपालको राहदानीसम्बन्धी सबै डेटा जर्मन कम्पनी म्युहलबौयर/भेरिडोसको सिस्टममा सारिएको छ । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ ।
विभागले नयाँ प्रविधिमा जाँदा सुरुवाती दिनमा केही प्रखाविधिक चुनौती तथा केही समय ढिलाइ देखिन सक्ने भएकाले कर्मचारी तथा कम्पनीका प्राविधिकहरु २४ घण्टा सुधारका लागि खटिने जनाएको छ । साथै, विभागले सुरुवाती चरणमा अत्यावश्यक राहदानी आवश्यक परेकाहरुले मात्रै आवेदन दिनसमेत आग्रह गरेको छ ।
विभागले नयाँ राहदानी लिन वा म्याद सकिएको वा अन्य कारणले राहदानी नवीकरण गर्नुपरेमा आवेदकले आफ्नो स्थायी बसोवास रहेको इलाका वा जिल्ला प्रशासन कार्यालय वा राहदानी विभाग वा विदेशस्थित नेपाली नियोगहरूवाट पूर्ववत् रूपमा राहदानी सेवा लिन सक्ने जनाएको छ ।





