काठमाडौं — राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको मृत्युलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले)का सांसद विश्वकर्माले गणेश नेपालीको घटनामा महानगरको भूमिका र उद्धार प्रक्रियामाथि प्रश्न उठाउँदै प्रमुख शाहले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
उनले आगोमा जलेका गणेश नेपालीलाई अपराधीसरह घिसारेर अस्पताल लगिएको आरोप लगाउँदै घटनास्थलमा रहेका ट्राफिक प्रहरी, नगर प्रहरी तथा उद्धारमा संलग्न प्रहरीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।
‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधीझैँ घिसारेर अस्पताल पुर्याइन्छ। त्यहाँ भएका प्रहरी गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,’ सांसद विश्वकर्माले भने, ‘उद्धारमा संलग्न ट्राफिक प्रहरी, नगर प्रहरी र अन्य प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस्। बालेन सरकारले राजीनामा देओस्।’
उनले महानगरको व्यवहारलाई ‘क्रूर’ भन्दै त्यसकै कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको दाबी गरे। ‘यदि नैतिकता छ भने बालेन सरकारले तुरुन्त राजीनामा गरेर जनतामाझ आउनुपर्छ,’ उनले भने।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।






