काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले संसद् विघटन गरी नयाँ सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

जेनजी आन्दोलनले केपी ओली सरकार ढलेपछि बालेनले सामाजिक सञ्जालमार्फत नयाँ सरकार गठनका लागि सर्त अघि सारेका हुन् । उनले अहिले आन्दोलन नितान्त जेनजीको भएको भन्दै नयाँ सरकार गठन गर्न संसद् विघटन पहिलो सर्त हुनुपर्ने उल्लेख गरेका छन् ।

ADVERTISEMENT

‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्नेछ । तयार रहनुहोला । साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस्— वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ,’ उनले भनेका छन् ।

बालेनले जेनजीलाई सरकारी सम्पत्ति तोडफोड नगर्न पनि आह्वान गरेका छन् । उनले जेनजीले नै अबको नेपालको नेतृत्व गर्ने पनि स्पष्ट पारेका छन् ।

अहिले नेपाली सेनाले नयाँ सरकार गठनका लागि छलफल थालेको छ । यसका लागि सबै सुरक्षा अंगका प्रमुख र मुख्यसचिवले संयुक्त विज्ञप्ति निकालेका छन् ।