काठमाडौं । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा ऐतिहासिक प्रवेश गरेको छ।
न्युयोर्क–न्यु जर्सी स्टेडियममा आइतबार भएको अन्तिम १६ को खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको सुरुआतमै प्याट्रिक बर्गले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन। यता ब्राजिलले पहिलो हाफमा पेनाल्टीको अवसर पाए पनि ब्रुनो गिमारेसको प्रहार नर्वेका गोलरक्षकले बचाए।
खेलको ७९औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपको उत्कृष्ट क्रसमा एर्लिङ हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा हालान्डले बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे। दुवै गोलमा स्केल्डेरुपले असिस्ट गरेका थिए।
इन्जुरी समयको १०औँ मिनेटमा ब्राजिलले पेनाल्टी पाएपछि वैकल्पिक खेलाडी नेयमारले गोल गरे पनि त्यो सान्त्वना गोलमा मात्र सीमित रह्यो।
यस जितसँगै नर्वेले विश्वकप इतिहासमै पहिलोपटक अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। अब नर्वेले क्वार्टरफाइनलमा इङ्ग्ल्यान्ड र सहआयोजक मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यता, सन् १९९० यता पहिलोपटक ब्राजिल विश्वकपको क्वार्टरफाइनल पुग्न असफल भएको छ।





