काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत गएराति ह्युस्टनमा सम्पन्न खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

ADVERTISEMENT

खेलको छैटौँ मिनेटमै जाओ कान्सेलोको पासमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। उक्त गोलसँगै उनी विश्वकपका छ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने।

पोर्चुगलका लागि नुनो मेन्डेजले १७औँ मिनेटमा फ्रिकिकमार्फत दोस्रो गोल थपे। त्यसपछि ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। यो विश्वकप इतिहासमा उनको १०औँ गोल समेत हो। यससँगै उनले पोर्चुगलका महान् खेलाडी इसेबाउ (युसेबियो) को ९ गोलको कीर्तिमानलाई उछिनेका छन्।

ADVERTISEMENT

खेलको ६०औँ मिनेटमा उज्वेकिस्तानका नेमाटोभबाट आत्मघाती गोल भएपछि पोर्चुगल ४–० ले अघि बढ्यो। वैकल्पिक खेलाडी राफेल लिओले ८७औँ मिनेटमा गोल गर्दै पोर्चुगलको जितलाई ५–० मा पुर्‍याए।

यसअघि पहिलो खेलमा डीआर कंगोसँग गोलरहित बराबरी खेलेको पोर्चुगलले यो जितसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

यता, पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तान लगातार दोस्रो हार बेहोर्दै दबाबमा परेको छ। उसले अब समूह चरणको अन्तिम खेलमा डीआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ।