काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत फ्रान्सले इराकमाथि प्रभावशाली ३-० को जित निकाल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
अमेरिकाको फिलाडेल्फिया रंगशालामा वर्षाका कारण करिब एक घण्टा स्थगित भएको खेल पुनः सुरु भएपछि फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको हो।
फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पे नायक बने। उनले खेलको १४औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे।
फ्रान्सका लागि तेस्रो गोल उस्मान डेम्बेलेले ६६औँ मिनेटमा गरे। विश्वकपमा डेम्बेलेको यो पहिलो गोल हो।
यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गरेको थियो भने इराक नर्वेसँग ४-१ गोल अन्तरले पराजित भएको थियो।
लगातार दोस्रो जितसँगै फ्रान्सले ६ अंक जोड्दै समूहबाट एक खेलअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।





