जापान सरकारले आगामी जुलाईदेखि विदेशी नागरिकका लागि भिसा शुल्कमा ठूलो वृद्धि गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार एकल–प्रवेश (सिंगल इन्ट्री) भिसाको शुल्क हालको तीन हजार येनबाट बढाएर १५ हजार येन पुर्‍याइनेछ, जुन करिब ९० अमेरिकी डलर बराबर हो।

जापानको विदेश मन्त्रालयका अनुसार सन् १९७८ पछि पहिलो पटक भिसा शुल्क पुनरावलोकन गरिएको हो। बढ्दो मुद्रास्फीति, प्रशासनिक खर्चमा भएको वृद्धि तथा जापानी मुद्रा येनको अवमूल्यनलाई ध्यानमा राखेर शुल्क समायोजन गरिएको मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT

त्यस्तै, बहु–प्रवेश (मल्टिपल इन्ट्री) भिसाको शुल्क छ हजार येनबाट बढेर ३० हजार येन पुग्नेछ। नयाँ शुल्क संरचना जुलाई १ देखि लागू हुने अपेक्षा गरिएको छ।

विदेशमन्त्री मोटेगी तोशिमित्सुले पत्रकार सम्मेलनमा भिसा शुल्क वृद्धिले जापानको पर्यटन क्षेत्रमा तत्काल नकारात्मक असर नपर्ने दाबी गरेका छन्। उनका अनुसार जापान आउने विदेशी पर्यटकको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढिरहेको छ र शुल्क वृद्धिले यात्रुको मागमा ठूलो असर पार्ने सम्भावना कम छ।

ADVERTISEMENT

कोभिड–१९ महामारीपछि जापानले पर्यटन पुनरुत्थानलाई प्राथमिकता दिँदै आएको छ। सन् २०२५ मा जापानले रेकर्ड संख्यामा विदेशी पर्यटक भित्र्याएको थियो भने आगामी वर्षहरूमा पनि पर्यटक आगमन बढ्ने सरकारी अपेक्षा छ। यद्यपि, नयाँ शुल्क व्यवस्थाले जापान भ्रमणको योजना बनाइरहेका विदेशी यात्रु तथा विद्यार्थीहरूको खर्च भने बढाउनेछ।