काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु–बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई उक्त क्षेत्र भ्रमण गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत मकालु–बरुण राष्ट्रिय निकुञ्ज, बरुण उपत्यका, शिवधारा झरना, लाङ्माले खर्क तथा मकालु बेस क्याम्पका मनोरम दृश्यहरू सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रलाई नेपालको उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एकको रूपमा प्रस्तुत गरेका हुन्।
प्रधानमन्त्रीले मकालु बेस क्याम्प ट्रेकलाई चुनौतीपूर्ण भए पनि नेपालकै सबैभन्दा आकर्षक र कम भीडभाड हुने हिमाली पदमार्गमध्ये एक भएको उल्लेख गरेका छन्। प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली दृश्यावलोकनका लागि यो क्षेत्र विशेष रहेको उनको भनाइ छ।
उनले वसन्त ऋतु (मार्चदेखि मे) र शरद् ऋतु (सेप्टेम्बरदेखि नोभेम्बर) लाई मकालु क्षेत्र भ्रमणका लागि सबैभन्दा उपयुक्त समयका रूपमा सिफारिस गरेका छन्।
प्रधानमन्त्रीको उक्त आह्वानलाई नेपालको पर्यटन प्रवर्द्धन र कम चर्चित हिमाली गन्तव्यहरूको प्रचारप्रसारसँग जोडेर हेरिएको छ। मकालु–बरुण क्षेत्र विश्वकै पाँचौं अग्लो हिमाल मकालुको आधार शिविरसम्म पुग्ने लोकप्रिय पदयात्रा मार्गका रूपमा परिचित छ।






