काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनलाई तीव्रता दिइएको भन्दै होटल व्यवसायीका चिन्ता क्रमशः अन्त्य हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गर्दै कानुनको पालना गर्दै व्यवसाय विस्तार गर्न आह्वान गरे।
साथै, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सहकार्यको सम्भावना अध्ययन गर्न सुझाव दिए।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल पनि सहभागी थिए। हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको उल्लेख गर्दै हाल वार्षिक १२ लाख मात्र पर्यटक आइरहेको जानकारी गराए। उनीहरूले पर्यटक संख्या बढे रोजगारी सिर्जना हुने र वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमै अवसर प्रदान गर्न सकिने बताए।
हानले सरकारसँग होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत, ५० बेडसम्मका होटलका लागि वातावरणीय अध्ययनको मापदण्ड संशोधन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, नेपाल एयरलाइन्सको सेवा सुधार तथा पर्यटनसम्बन्धी नीतिगत सुधार गर्न आग्रह गरेको छ।
साथै, डेस्टिनेसन वेडिङ र आरोग्य पर्यटन प्रवर्द्धनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया सहज बनाउन पनि व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।






