काठमाडौँ ।उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
१८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा, साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौटी वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा प्रसाईंले ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ मार्फत कर्जा अपचलन गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताले १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेका थिए ।








