काठमाडौं।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गर्दै मध्यपूर्वमा जारी तनाव अन्त्यतर्फ महत्वपूर्ण कदम चालिएको बताएका छन्। उनले उक्त सम्झौतासँगै रणनीतिक महत्वको होर्मुज जलमार्ग पुनः खुल्ने तथा जहाजहरूको महसुलरहित आवतजावत सुरु हुने दाबी गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानसँगको सम्झौता पूरा भएको जानकारी दिँदै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउने आदेश दिएको बताएका छन्। उनले विश्व ऊर्जा आपूर्तिमा सुधार आउने र तेल ढुवानी पुनः सहज हुने विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि अमेरिका र इरानबीच शान्ति सम्झौता भएको पुष्टि गर्दै सम्झौता हाल कार्यान्वयनको चरणमा रहेको बताएका छन्। उनका अनुसार सम्झौतामा औपचारिक हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुनेछ।

शरिफले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै अमेरिका र इस्लामिक रिपब्लिक अफ इरानबीच लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने सहमति भएको उल्लेख गरेका छन्। उनले वार्ता सफल बनाउन मध्यस्थकर्ताको भूमिका खेलेको कतारको नेतृत्वलाई धन्यवाद पनि दिएका छन्।

ADVERTISEMENT

आइतबार इरानका उप–परराष्ट्रमन्त्रीले समेत सम्झौताको पुष्टि गरेको बताइएको छ। उक्त सम्झौताले अमेरिका र इरानबीचको लामो समयदेखिको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्दै नयाँ कूटनीतिक अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पले यस सम्झौताले मध्यपूर्वमा शान्ति र स्थायित्व स्थापना गर्न मद्दत पुग्ने तथा इरानसँग थप सहकार्यका लागि मार्ग खुल्ने बताएका छन्। उनले आफूभन्दा अघिका अमेरिकी राष्ट्रपतिहरू इरानसँग स्थायी शान्ति स्थापना गर्न असफल भएको दाबी गर्दै वर्तमान सम्झौता ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्।

उनका अनुसार सम्झौतामा हस्ताक्षर भएसँगै बारुदी सुरुङ हटाउने कार्य सुरु हुनेछ भने होर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउनेछ। यसले विश्व ऊर्जा बजारमा देखिएको अनिश्चितता कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कतारको विदेश मन्त्रालयले सम्झौताको स्वागत गर्दै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति, आर्थिक स्थायित्व र समुद्री यातायातको स्वतन्त्रता सुनिश्चित गर्न सहयोग पुग्ने जनाएको छ।

बेलायती प्रधानमन्त्री कियर स्टारमरले अमेरिका–इरानबीचको प्राविधिक वार्तामा सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँले पनि सम्झौताको स्वागत गर्दै सबै पक्षलाई यसको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन्।

यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त सम्झौताले मध्यपूर्वमा नयाँ युगको सुरुआत गर्न सक्ने बताएका छन्।