काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। एकैदिनको वृद्धिसँगै सुनको मूल्य पुनः नयाँ उचाइतर्फ पुगेको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३ सय २८ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।








