काठमाडौं। फिफा विश्वकप २०२६ को आधिकारिक गीत ‘दाई दाई’ विश्वकप फुटबलको इतिहासकै सर्वकालीन उत्कृष्ट गीत घोषित भएको छ। प्रतिष्ठित सांगीतिक म्यागजिन बिलबोर्ड ले आफ्ना पाठकमाझ सञ्चालन गरेको सर्वेक्षणमा शकिरा र बर्ना ब्वायको यो गीतले सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

बिलबोर्डका अनुसार ‘दाई दाई’ले कुल ३१.२८ प्रतिशत मत प्राप्त गरेको छ। दोस्रो स्थानमा शकिराकै सन् २०१० को चर्चित विश्वकप गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ रहेको छ, जसले २६.६४ प्रतिशत मत प्राप्त गरेको छ।

ADVERTISEMENT

सन् १९९० यता फिफाले सार्वजनिक गरेका १० वटा आधिकारिक विश्वकप गीतमध्ये पाठकहरूले मतदान गरेका थिए। यस वर्ष सार्वजनिक भएको ‘दाई दाई’ले अफ्रोबिट्स, डान्स-पप, रेगेटोन तथा विश्व संगीतको संयोजनमार्फत फुटबलको उत्साह, एकता र विश्वव्यापी भावना प्रस्तुत गरेको छ।

ADVERTISEMENT

गीतमा फुटबलका महान खेलाडीहरू डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सी को समेत उल्लेख गरिएको छ, जसले यसलाई थप विशेष बनाएको छ।

यस्तै, सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको चर्चित गीत ‘कप अफ लाइफ (ला कोपा दे ला भिडा)’ झण्डै २५ प्रतिशत मतसहित तेस्रो स्थानमा परेको छ। विश्वकपका सबैभन्दा लोकप्रिय गीतमध्ये मानिने उक्त गीतले रिकी मार्टिनको अन्तर्राष्ट्रिय सांगीतिक यात्रामा महत्वपूर्ण सफलता दिलाएको थियो।

ADVERTISEMENT

सर्वेक्षणमा पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइटेको ‘ओले ओला (वी आर वन)’ तथा इल डिभो र टोनी ब्र्याक्सटनको ‘द टाइम अफ आवर लाइभ्स’ पनि लोकप्रिय गीतहरूको सूचीमा परेका छन्।