काठमाडौं । नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहालले योजनाबद्ध रूपमा आफू र आफ्नो परिवारविरुद्ध मिडिया ट्रायल भएको भन्दै आपत्ति जनाएकी छन् । दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत केही दिनदेखि आफ्नो परिवारविरुद्ध मिडिया ट्रायल भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेकी छन् ।

राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने काम आखिर किन भइरहेको छ ? भन्दै उनले प्रश्नसमेत गरेकी छन् । आफ्नो परिवारविरुद्ध भ्रम सिर्जना गरिएको भन्दै उनले छानबिन गरी कारबाही गर्न सरकारसँग मागसमेत गरेकी छन् ।

ADVERTISEMENT

‘नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट फैलाइएका आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचारलाई म पूर्ण रूपमा खारेज गर्दछु। राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने काम आखिर किन भइरहेको छ ? म नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेकी छन्, ‘यस्ता दुष्प्रचार गरेर समाजमा भ्रम सिर्जना गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाहीको माग गर्दछु ।’

दाहालले भाइ प्रकाश दाहालको निधनपछि व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी आफ्नो सम्पूर्ण ऊर्जा, समय र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गर्दै आएको जिकिर गरेकी छन् । उनले सरकारका सम्बन्धित निकायहरूले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि पूर्ण रूपमा सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न नसक्ने उल्लेख गरेकी छन् । उनले प्रतिवाद गर्न नेता कार्यकर्तालाई आह्वान पनि गरेकी छन्।

ADVERTISEMENT

‘मैले भाइ प्रकाशको असामयिक निधनपछि पार्टीकै निर्णयबमोजिम नेतृत्वलाई सहयोग गर्दै आएको यथार्थ सर्वविदित नै छ। व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी मैले आफ्नो सम्पूर्ण ऊर्जा, समय र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गर्दै आएकी छु। सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टी र नेतृत्वको बदनाम गर्ने उद्देश्यले हाम्रा विरुद्ध चलाइएको मिडिया ट्रायलको सशक्त प्रतिवाद गर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेकी छन् ।