काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ भने दिनभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
कोसी र मधेस प्रदेशका केही स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिमी वायु पूर्वतर्फ सर्दै गएको र मनसुनी वायु नेपाल प्रवेश गर्ने क्रममा रहेकाले देशका अधिकांश क्षेत्रमा वर्षा, हावाहुरी तथा चट्याङको सम्भावना बढेको छ।
उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा पश्चिम, मध्य र पूर्वी नेपालका धेरै स्थानमा वर्षा हुन सक्ने तथा तराई क्षेत्रमा केही हदसम्म गर्मी कम हुने उल्लेख गरेका छन्। यद्यपि केही क्षेत्रमा हावाहुरीको जोखिम पनि रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ।








