काठमाडौँ । इलन मस्क विश्वकै पहिलो ट्रिलिनियर बनेका छन् । उनी कुल सम्पत्ति १० खर्ब डलरभन्दा बढी हुने व्यक्ति बनेका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार बिहिबार रकेट कम्पनी स्पेसएक्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) पछि प्रविधि उद्यमी मस्क ट्रिलिनियर बनेका हुन् । यससँगै मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा बढी पुगेको छ ।

ADVERTISEMENT

मस्कको मुख्य सम्पत्ति स्पेसएक्स र टेस्लामा रहेको उनको सेयर हिस्सा हो । स्पेसएक्सले आईपीओमार्फत् सर्वाधिक ७५ अर्ब डलर संकलन गरेको थियो ।

रोयटर्सका अनुसार स्पेसएक्समा मात्रै मस्कको सेयरको रकम करिब ८६६ अर्ब डलर छ । अमेरिकी बजारमा २०२६ जुन १२ देखि कारोबार शुरु भएपछि उनको सम्पत्तिमा यो उछाल आएको हो ।

ADVERTISEMENT

सीएनएनका अनुसार मस्कको सम्पत्ति विश्वका अन्य चार धनी व्यक्तिहरूको कुल सम्पत्तिभन्दा पनि बढी छ । दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै एक तिहाइ मात्रै छ । मस्कको सम्पत्ति ताइवान, स्विडेन र उनको जन्मथलो दक्षिण अफ्रिकाजस्ता धेरै देशको कुल अर्थतन्त्रभन्दा पनि ठूलो भएको छ । १ ट्रिलियनभन्दा बढी अर्थतन्त्र भएका देश विश्वमा जम्मा २३ वटा छन् ।

५४ वर्षीय मस्कले टेस्ला र स्पेसएक्सबाहेक न्युरालिंक र द बोरिङ कम्पनीजस्ता अन्य प्रविधि कम्पनीहरू पनि स्थापना गरेका छन् । सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर) उनकै स्वामित्वमा छ ।