काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले छलफल गरेका छन् । सत्ता पक्षका सांसदहरुले बजेटका सकारात्मक पक्षबारे चर्चा गरे भने विपक्षी दलका सांसदहरुले बजेटमा जनताका अपेक्षाअनुसारका कार्यक्रम नसमेटिएको धारणा राखे ।
सांसदहरूले संसद्को अनुमतिबिना करका दर फेरबदल गर्न नपाइने तर्फ सरकारको सरकारको ध्यानाकर्षण गराएका छन् ।
आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद निश्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसद्मा पेस भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गरे । करको दर सरकारले आफूखुसी बदल्न नपाइने विषयलाई ध्यान दिन उनले आग्रह गरे ।
नेकपा सांसद युवराज दुलालले बजेटले जेनजी आन्दोलनको भाव समेट्न नसकेको बताए । उनले मेलम्ची आयोजना प्रभावितको विषय बजेटमा समेट्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्री वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने बताए ।
आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक दुईवटा खोस्टाहरूले दुई अर्बको आशंका इत्यादि भनेर लेखे । तर दुई अर्ब होइन, दुई रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु ।’
वाग्लेले यस्तै नैतिक आँट र नैतिक उचाइ आफूप्रति औंलो ठड्याउने सांसदहरुमा पनि हुनुपर्ने बताए । ‘तपाईंका काण्ड बारेमा हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्,’ चेतावनी दिँदै उनले भने ।
‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने पनि सुनियो । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ? उनले भने ।
रास्वपा सांसद बदनकुमार भण्डारीले बजेटमा रहेको बिमाको प्रावधानले आमनागरिकको स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताए । उनले बजेटमा आयकर छुट दोब्बर गरिएको, शिक्षामा बजेट वृद्धि भएको, टेलिकमको सेयर जनतामा प्रवाह गर्ने र लगानी गर्नेलगायतका सकारात्मक पक्ष रहेकाबारे चर्चा गरे ।
एमाले सांसद पद्माकुमारी अर्यालले आमनागरिकले अपेक्षा गरेअनुसारको बजेट नआएको उल्लेख गर्दै बजेटमा केही राम्रा विषय पनि रहेको बताइन् ।
सांसद सुजाता तामाङले रासायनिक मलका लागि अत्यधिक बजेट विनियोजन गरिएको उल्लेख गर्दै माटोको अवस्था सुधार गर्नुपर्ने र प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।
सांसद बोधनारायण श्रेष्ठले बजेटले विभिन्न नयाँ विषयका सुधारका कुरा क्रमभङ्गता गरेको उल्लेख गर्दै व्यक्तिगत आयकर छुट रकम वृद्धि, प्रशासनिक मितव्ययिता, नागरिक उड्डयनलाई नियामक र कार्यात्मक गरी विभाजन गरिएको बताए ।
सांसद रञ्जु न्यौपानेले जनतालाई निशुल्क उपलब्ध गराइने सेवाका लागि सरकारले कहीँ न कहीँ लागत उठाउनैपर्ने उल्लेख गर्दै त्यसका लागि बजेटमा अर्थमन्त्रीले स्पष्ट रुपमा उल्लेख गरेको दाबी गरिन् ।








