काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ। पार्टीले सदस्यता अद्यावधिकको म्याद जेठ २८ गते राति १२ बजेसम्मका लागि बढाएको जनाएको छ।

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलका अनुसार बिहीबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकालेको थियो। तर पार्टीका विभिन्न तहबाट समय अपुग भएको गुनासो आएपछि अन्तिमपटकका लागि म्याद थप्ने निर्णय गरिएको हो।

महामन्त्री पौडेलले तोकिएको अवधिभित्र सबै सदस्यले आफ्नो सदस्यता अद्यावधिक कार्य अनिवार्य रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्।