काठमाडौं । सुक्खाग्रस्त बनेको मधेश प्रदेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ ।
पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा केन्द्रमा भारी वर्षा मापन भएको छ । बाँकी तीन केन्द्रमा ठाउँमा पनि त्यसकै आसपास वर्षा भएको मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहको सिराह हाइड्रो केन्द्रमा मापन भएको छ । उक्त केन्द्रमा धेरै भारी अर्थात १०१.६ मिलिमिटर वर्षा मापन भएको छ । २० घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ ।
सिराहकै लहान केन्द्रमा ७७.२, गोलबजारको केन्द्रमा ५२.८, मिलिमिटर वर्षा भएको छ । यस्तै, सप्तरी मरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२, कल्यानपुरमा ४९.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, महोत्तरीको गौशालामा ५८, सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा भएको छ । लामो समय देखि पानी नपरेका कारण मधेश प्रदेशमा धान रोपाइ हुुन नसक्दा खेत बाझै रहेका छन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार पानी नपर्दा मधेश प्रदेशमा ५१ प्रतिशत मात्र धान रोपाइ भएको छ ।







