काठमाडौं । राप्रपाले पार्टीको जिल्ला र स्थानीय तहहरुको अधिवेशनका लागि ७७ वटै जिल्लामै केन्द्रीय पर्यवेक्षक तोकेको छ ।

पार्टी प्रवक्तासमेत रहेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबाट ७७ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकिएको हो ।
व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्न पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको श्रेष्ठले बताए ।

यसरी तोकिएका पर्यवेक्षकहरुलाई जिल्ला कार्यसमिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरुसँग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको छ।

पर्यवेक्षकहरुले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्न र नियमित प्रतिवेदन पेस गर्नुपर्नेछ।

काभ्रेमा सरस्वती केसी अधिकारी, भक्तपुरमा रोशन कार्की, ललितपुरमा प्रकाश रिमाल र उद्धवराज भेटवाल, काठमाडौँ बुद्धिमान तामाङ, नुवाकोटमा उद्धव थापा, धादिङमा विक्रम पाण्डे, चितवनमा रवीन्द्र मिश्रलाई खटाइएको छ ।