काठमाडौं । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा दुई जनाले ज्यान गुमाएका हुन्।
मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही स्थानका ४५ वर्षीय गिरमान सिंह राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल खसेको थियो।
दुर्घटनामा चालक थापाको टाउकोमा गम्भीर चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र रिडी लगिएको भए पनि उपचारकै क्रममा राति मृत्यु भएको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। शवलाई सोमबार बिहान घटनास्थलमा मुचुल्का गरी पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ADVERTISEMENT