काठमाडौं। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डका अनुसार अनुमति प्राप्त कम्पनीहरूले कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर निष्कासन गर्न पाउने भएका छन् ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार स्वीकृत शेयरको कुल मूल्य रु नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर रहेको छ । अनुमति प्राप्त कम्पनीमध्ये अधिकांश जलविद्युत् क्षेत्रका रहेका छन् ।

ADVERTISEMENT

कुल २४ कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजना रहेका छन् भने सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी छन् । यस्तै, विकास बैंक र होटल तथा पर्यटन क्षेत्रका एक–एक कम्पनीले पनि आइपिओ निष्कासन अनुमति प्राप्त गरेका छन् ।

ADVERTISEMENT

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल १०३ जलविद्युत् कम्पनी सूचीकृत भई कारोबार भइरहेका छन् । धितोपत्र बोर्डबाट अनुमति पाउने तथा अनुमति प्रक्रियामा रहेका कम्पनीहरूको सङ्ख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै प्रभुत्व देखिएको छ ।

बोर्डका अनुसार हाल ९८ कम्पनीले आइपिओ बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् । आवेदन दिने कम्पनीमध्ये ३२ वटा जलविद्युत् क्षेत्रका रहेका छन् भने २६ वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् ।

त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका १८, लगानी समूहका पाँच, माइक्रो इन्स्योरेन्सका तीन तथा अन्य समूहअन्तर्गत १४ कम्पनी रहेका छन् ।

पुँजी बजारमा पछिल्लो समय जलविद्युत् कम्पनीहरूको आकर्षण बढ्दै गएको छ । ऊर्जा क्षेत्रमा निजी लगानी विस्तारसँगै आइपिओमार्फत सर्वसाधारणबाट पूँजी संकलन गर्ने प्रवृत्ति तीव्र बनेको देखिन्छ ।